काठमाडौँ । जेडटीई कर्पोरेसनले नेपाली बजारमा आफ्ना दुई नयाँ स्मार्टफोन ‘जेडटीई नुबिया एयर’ र ‘जेडटीई नुबिया भी८० डिजाइन’ सार्वजनिक गरेको छ । शंकर ग्रुपअन्तर्गत भित्रिएका यी फोनहरूमा कम्पनीले शून्य प्रतिशत ब्याजदरको मासिक किस्ताबन्दी सुविधासमेत घोषणा गरेको छ ।
‘जेडटीई नुबिया एयर’ विशेषगरी यसको स्लिम डिजाइनका लागि परिचित छ । ५.९ मिलिमिटर मात्र मोटाइ रहेको फोनमा ६.७८ इन्चको १.५ के एमोलेड डिस्प्ले रहेको छ । सुरक्षाका लागि यसमा कोर्निङ गोरिल्ला ग्लास ७आई प्रयोग गरिएको छ भने धुलो र पानीबाट सुरक्षा दिन आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ प्राप्त छ ।
एन्ड्रोइड १५ मा चल्ने नुबिया एयरमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र २० मेगापिक्सेलको सेल्फी क्यामेरा छ । ५००० एमएएच ब्याट्री र ३३ वाटको फास्ट चार्जिङ सुविधा रहेको यो फोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसको बजार मूल्य ३३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
त्यस्तै, कम्पनीले सहुलियत मूल्यमा ‘नुबिया भी८० डिजाइन’ पनि सार्वजनिक गरेको छ । एन्ड्रोइड १६ अपरेटिङ सिस्टममा चल्ने बताइएको यो फोन दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य १९ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य २१ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
नुबिया भी८० मा ५० मेगापिक्सेलको एआई मुख्य क्यामेरा, १६ मेगापिक्सेलको सेल्फी क्यामेरा र २२.५ वाट चार्जिङ सपोर्टसहितको ५००० एमएएच ब्याट्री रहेको छ ।
नयाँ मोडेल सार्वजनिक गर्दै शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर सक्षम जाटियाले हरेक मूल्य वर्गमा नवीन प्रविधि पुर्याउने रणनीतिका साथ यी फोनहरू ल्याइएको बताए । उनले यी फोनहरुमा भएको स्लिम डिजाइन र टिकाउपनले नेपाली ग्राहकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।
यी दुवै स्मार्टफोन नेपालभरका जेडटीईका आधिकारिक बिक्रेताहरू मार्फत उपलब्ध भइसकेको कम्पनीले जनाएको छ ।