काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगरका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारी र शाखा अधिकृत (करार) याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार कार्कीले अनुसन्धानका क्रममा पेश गरेको एक सरकारी पत्र शंकास्पद देखिएपछि छानबिन गरिएको थियो । उक्त पत्रमा कार्यालयको काममा असर नपर्ने गरी बिहान-बेलुका अतिरिक्त काम तथा अध्ययन-अध्यापन गर्न अनुमति दिएको उल्लेख थियो, तर सो पत्रमा चलानी नम्बर नदेखिएको र अभिलेखमा पनि दर्ता नभएको पाइएको छ ।
अनुसन्धानका क्रममा मिति २०६२ पुस २९ गतेको उक्त पत्र नक्कली तथा झुट्टा भएको पुष्टि भएको आयोगले जनाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षण र सम्बन्धित कार्यालयको विवरणबाट पनि उक्त कागजात वास्तविक नभएको देखिएको छ ।
आयोगका अनुसार दुवै आरोपितले मिलेमतोमा सरकारी कागजात, लेटरप्याड र छापको दुरुपयोग गरी गलत लिखत तयार पारेका हुन् । उक्त कागजात प्रयोग गरेर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्ने र भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताइएको छ ।
यसरी गलत लिखत तयार गरी प्रयोगमा ल्याउनु भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कसुर भएको भन्दै दुवैविरुद्ध कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।