×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रवास

लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला, सैनिक सुरक्षित

लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला, सैनिक सुरक्षित

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो ।

शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताए ।

उनले भने, ‘नेपाली शान्ति सैनिक रहेको माइस–अल–जबालमा केही विष्फोट भएको हो । त्यहाँ एक घरमा क्षति पुगेको छ । नेपाली शान्ति सैनिकका व्यक्तिगत केही सामानहरुमा क्षति पुगेको छ । तर मानवीय क्षति भएको छैन ।’

लेबनानभर ५ सय बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ । त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् ।

आक्रमणको समयमा हेडक्वाटरमा कति संख्यामा शान्ति सैनिक थिए भन्ने एकिन भएको छैन । ‘त्यहाँ अदलीबदली, आउजाउ भइरहन्छ त्यसैले आक्रमणको बेला कति शान्ति सैनिक थिए भन्ने एकिन छैन,’ सैनिक प्रवक्ता बस्नेतले भने ।

लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीले इजरायलको गोला नेपाली शान्ति मिसनको हेडक्वाटरमा खसेको जिकिर गरेको छ । ‘इसरायली गोला माइस–अल–जबाल सहरमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (यूएनआइएफआइएल) अन्तर्गत नेपाली बटालियनको मुख्यालयभित्र खसे,’ एजेन्सीले भनेको छ ।

तर कहाँबाट आक्रमण भयो भन्ने एकिन नभइसकेको नेपाली सेनाका प्रवक्ता बस्नेतले बताए । उनका अनुसार त्यसको अनुसन्धान भइरहेको छ । ‘गोलाबारी कहाँबाट भयो भन्ने एकिन छैन, त्यसको छानबिन हुन्छ,’ उनले आइतबार बिहान भने ।

युएन महासचिवले भने– द्वन्द्व रोकियोस्

संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव गुटेरेस लेबनान भ्रमणमा रहेका बेला शान्ति सैनिकको क्याम्पमा समेत विष्फोट भएको हो ।

महासचिव गुटेरेसले शान्ति सैनिकलाई समेत निशाना बनाउनु अस्वीकार्य भएको बताए । उनले हाल चर्किएको द्वन्द्व तुरुन्तै रोकिनुपर्ने पनि बताए ।

उनले शान्ति बहालका लागि विश्व समुदायलाई अपिल समेत गरेका छन् । ‘अन्तर्राष्ट्रिय समुदायलाई मेरो सन्देश एकदमै स्पष्ट छ– आफ्नो सक्रियता बढाउनुस्,’ उनले भनेका छन् ।

उनले लेबनानसँगसँगै इजरायल र अरु सम्पूर्ण देशका जनतालाई निर्भयपूर्वक बाँच्न पाउने अधिकार रहेको बताए ।

प्रतिकृया दिनुहोस्