काठमाडौँ । अब चाँडै नै साओमीको बहुप्रतिक्षित रेड्मी नोट १५ सिरिज नेपाली बजारमा समेत आउने भएको छ । जसमा मुख्यतया चार ओटा भेरियन्ट रेड्मी नोट १५ फोरजी, रेड्मी नोट १५ फाइभजी, रेड्मी नोट १५ प्रो फाइभजी र रेड्मी नोट १५ प्रो प्लस फाइभजी समावेश छन् ।
यस सिरिजका फोनहरूमा ६.७७ इन्चदेखि ६.८३ इन्चसम्मको एमोलेड डिस्प्ले छ । जसले १२० हर्ज रिफ्रेस रेट र ३,२०० निट्सको पिक ब्राइटनेस सपोर्ट गर्छ । नोट १५ फोरजी र प्रो प्लस मोडेलमा कर्भ्ड (घुमाउरो) डिस्प्ले रहेको छ ।
क्यामेराको कुरा गर्नुपर्दा रेड्मी नोट १५ र १५ फाइभजी मोडेलमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ । जसमा ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन
) प्रविधि जडान गरिएको छ । सेल्फीका लागि फोनमा २० मेगापिक्सेलको क्यामेरा राखिएको छ ।
त्यस्तै रेड्मी नोट १५ प्रो र प्रो प्लसमा अझ शक्तिशाली २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । यो सिरिज एन्ड्रोइड १५ मा आधारित साओमीको नयाँ हाइपरओएस २ मा चल्छ । फोनमा मोडेल अनुसार फरक फरक चिपसेट प्रयोग गरिएका छन् ।
नोट १५ फोरजीमा मिडियाटेक हेलियो G100-Ultra, नोट १५ फाइभजीमा क्वालकम Snapdragon 6 Gen 3, नोट १५ प्रोमा मिडियाटेक Dimensity 7400 Ultra र प्रो प्लसमा Snapdragon 7s Gen 4 चिपसेट समावेश छ ।
यस सिरिजमा ब्याट्री क्षमता निकै प्रभावशाली छ । नोट १५ फोरजीमा ६,००० एमएएच क्षमताको ब्याट्री छ भने फाइभजी भेरियन्टमा ५,५२० एमएएच, प्रो मोडेलमा ६,५८० एमएएच र प्रो प्लसमा ६,५०० एमएएचको ब्याट्री छ । सबै मोडेलहरूले ३३ वाटदेखि १०० वाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्छन् ।
यी फोनहरूले पानी र धुलोबाट बच्नका लागि आईपी ६४, आईपी ६६, आईपी ६८ र आईपी ६९ केसम्मको रेटिङ पाएका छन् । यी फोनहरू ग्लासियर ब्लु, मिस्ट पर्पल, फरेस्ट ग्रिन र ब्ल्याक जस्ता विभिन्न रङहरूमा उपलब्ध हुनेछन् ।
विश्व बजारमा रेड्मी नोट १५ को सुरुवाती मूल्य २२९ युरो (करिब ३८,००० रुपैयाँ) र नोट १५ फाइभजी को सुरुवाति मूल्य २७९ युरो (करिब ४६,५०० रुपैयाँ) तोकिएको छ । प्रो र प्रो प्लस मोडेलको मूल्य भने क्रमशः ४४९ युरो (करिब ७५,००० रुपैयाँ) र ४९९ युरो (करिब ८३ हजार रुपैयाँ) बाट सुरु हुन्छ ।
नेपालमा रेड्मी नोट १५ प्रो फाइभजी, रेड्मी नोट १५ प्रो प्लस फाइभजी, रेड्मी नोट १५ फोरजी र रेड्मी नोट १५ फाइभजी आउने बताइएको छ । फोन जनवरीको दोस्रो सातासम्ममा नेपाली बजारमा यो फोन सार्वजनिक हुने अपेक्षा गरिएको छ ।